नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्छ : महत

  • मिति : बैशाख ३०, २०८३
514 Shares

काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि नेतृत्वलाई थप जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

नेता महतले आफूहरू पार्टीमा कुनै पनि किसिमको विग्रह नचाहने र सदैव एकताको पक्षमा रहेको स्पष्ट पारे । डा. महतले एक पक्षले मात्र निर्वाचित गरेको आधारमा नेतृत्वले स्वेच्छाचारी ढंगले चल्न नहुने उनको तर्क छ । पार्टीलाई व्यक्ति नभई संस्थाका रूपमा बलियो बनाउने अभियानमा आफूहरू लागेको बताउँदै उनले कुनैपनि दुबिधामा नपर्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

पार्टी विभाजन गर्ने आफूहरूको कुनै मनसाय नरहेको स्पष्ट पार्दै उनले एकताका लागि नेतृत्वले निश्चित आधार तय गर्नुपर्ने र ती आधारप्रति गम्भीर हुनुपर्नेमा जोड दिए ।

उनले भने ‘हामी पार्टी एकताको पक्षमा छौँ र कुनैपनि अवस्थामा विग्रह आओस् भन्ने चाहँदैनौँ । तर विशेष अधिवेशनबाट चुनिएर आएको वर्तमान नेतृत्वले सबैलाई मिलाएर लैजाने कानुनी र नैतिक जिम्मेवारी भुल्नु हुँदैन । हामी जे चाहन्छौँ, त्यही मात्र हुन्छ भन्ने सोच राखेर योगदान दिएका अन्य नेता–कार्यकर्ताको अर्थ छैन भन्ने किसिमले अगाडि बढ्नु गलत हुन्छ, यसले पार्टीलाई फाइदा पुर्याउँदैन ।’