काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा नभई संकल्पमा बदल्नुपर्ने बताएका छन्।
जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै पोखरेलले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले नियमित रूपमा बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा स्मृति दिवस मनाउँदै आएको उल्लेख गर्दै यस वर्ष पनि देशभर रचनात्मक कार्यक्रम सञ्चालन गर्न पार्टी कार्यालयले सर्कुलर जारी गरिसकेको जानकारी दिए।
महासचिव पोखरेलले ‘निर्वाचनमा हारको पीडा नभए माथि उठ्न सकिँदैन’ भन्दै हारलाई निराशामा बदल्न नदिन पार्टी कमिटी र जनसंगठनहरूलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिए। ‘हरेकले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ,’ उनले भने। पोखरेलले पछिल्लो निर्वाचन कुनै एक दलको मात्र हार नभई मूलधारका राजनीतिक शक्तिहरूका लागि चुनौती भएको टिप्पणी गरे। ‘यो नेपालका मूलधार दलहरूको पनि चुनौती हो,’ उनले भने।