नयाँ नेतृत्व चयनको दौडमा यातायात व्यवसायी, पोखरामा बढ्यो चुनावी सरगर्मी

  • मिति : बैशाख २८, २०८३
3.2K Shares

काठमाडौंनेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ को सातौं राष्ट्रिय महाधिवेशन २७ गतेदेखि पोखरामा सुरु भएको छ । महाधिवेशनको दोस्रो दिन आइतबार चुनावी गतिविधि थप तीव्र बन्दै गएको छ भने नेतृत्व चयनलाई लिएर व्यवसायीहरूबीच व्यापक चासो देखिएको छ ।

देशभरका ३८७ सदस्य संस्थाबाट आएका १५ सयभन्दा बढी मतदाता तथा प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । तीन दिनसम्म चल्ने अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । नयाँ नेतृत्व चयनसँगै महासंघको भावी नीति, व्यवसायी हकहित र यातायात क्षेत्रका चुनौती समाधानका विषयमा समेत व्यापक बहस भइरहेको छ ।

महासंघको अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला(सरोज),  हरिशरण केसीकेदार क्षेत्री बीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । उम्मेदवारहरूले आफू पक्षमा मत तान्न प्रतिनिधिसँग भेटघाट, छलफल र आन्तरिक लबिङलाई तीव्र बनाएका छन् ।

पोखराका होटल तथा महाधिवेशनस्थल वरपर उम्मेदवार समर्थकहरूको सक्रियता बढेको देखिन्छ । विभिन्न समूहबीच रणनीतिक छलफल, प्यानल निर्माण र समर्थन जुटाउने गतिविधि दिनभर चलिरहेकाले चुनावी माहोल निकै तातेको सहभागी व्यवसायीहरूले बताएका छन् ।

यातायात क्षेत्र अहिले सार्वजनिक यातायात व्यवस्थापन, कर नीति, बीमा, विद्युतीय सवारी विस्तार तथा व्यवसायी सुरक्षाजस्ता विषयबाट प्रभावित भइरहेका बेला नयाँ नेतृत्वले यी मुद्दामा कस्तो भूमिका खेल्छ भन्ने विषयलाई पनि व्यवसायीहरूले महत्वका साथ हेरेका छन् ।