बोक्सीको आरोपमा एकल महिलालाई मलमूत्र खुवाएर कुटपिट गर्ने पक्राउ

  • मिति : बैशाख २१, २०८३
633 Shares

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीय एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएर अमानवीय व्यवहार गरिएको जघन्य घटना सार्वजनिक भएको छ ।

कटहरिया नगरपालिका–९, डुमरिया टोल बस्ने ती महिलालाई स्थानीय केही व्यक्तिहरूले ‘बोक्सी लागेर आफ्नो नातेदारको बालक बिरामी पारेको’ आरोप लगाउँदै घरमै पसेर कुटपिट गरेका थिए ।

पीडितका अनुसार, आक्रमणकारीहरूले गालीगलौज गर्दै उनलाई बियरको बोतलमा घोलेको मानव मलमूत्र जबरजस्ती खुवाएका थिए ।

घटनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी नायव निरीक्षक मोहन आलेमगरको नेतृत्वमा खटिएको टोलीले अचेत अवस्थामा रहेकी महिलाको उद्धार गरेको थियो । उनलाई तत्काल स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, उक्त अमानवीय कार्यमा संलग्न रहेको आरोपमा कटहरिया–९ बस्ने ३० वर्षीय शंकर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए ।

नेपालको कानुनले बोक्सीको आरोपमा गरिने यस्ता दुर्व्यवहारलाई गम्भीर अपराध मानेको छ । स्थानीय प्रशासनले अपराधीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।