काठमाडौंदेखि लुम्बिनीसम्म ‘पेडल फर पिस २०२६’ सुरु, १०८ सहभागी पुर्‍याउने लक्ष्य

  • मिति : बैशाख १५, २०८३
1.3K Shares

काठमाडौं । शान्तिको सन्देश फैलाउने उद्देश्यसहित काठमाडौंदेखि लुम्बिनीसम्म “टुर डे लुम्बिनी ,पेडल फर पिस २०२६” साइकल यात्रा आजबाट औपचारिक रूपमा सुरु भएको छ। राजधानीको स्वयम्भू नजिक रहेको आनन्दकुटी विद्यालयबाट यात्रा शुभारम्भ गरिएको हो।

अभियानको प्रारम्भिक चरणमा ६० जना साइकल यात्री सहभागी भएका छन् भने लुम्बिनी पुग्दा सहभागी संख्या १०८ पुग्ने आयोजकले जनाएको छ। नेपालसहित विभिन्न देशबाट आएका युवा, साइकल यात्री, कर्पोरेट प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहने बताइएको छ।

बिदाइ कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदूत रुवन्थी डेल्पिटिया, बौद्ध धर्मगुरुहरू मैत्री महास्थबिर, धर्ममूर्ति महास्थबिर र पन्नमूर्ति महास्थबिरले सहभागीहरूलाई शुभकामना दिँदै यात्राको सफलताको कामना गरेका थिए।

अभियानका संस्थापक मेघ आलेका अनुसार सन् २०१२ देखि सञ्चालन हुँदै आएको यो अभियानले शान्ति, सहअस्तित्व र सकारात्मक सामाजिक सन्देश प्रवाह गर्दै आएको छ। यस वर्षको यात्राको नेतृत्व विश्वप्रसिद्ध साइकल यात्री पुष्कर शाहले गरिरहेका छन्।

लुम्बिनी, जहाँ भगवान् गौतम बुद्धको जन्म भएको मानिन्छ, त्यहाँ पुगेर विश्वभर शान्तिको सन्देश फैलाउने अभियानको मुख्य उद्देश्य रहेको छ। साथै, नेपाललाई अन्तर्राष्ट्रिय शान्तिको केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य पनि अभियानले बोकेको आयोजकको भनाइ छ।

यस वर्ष विशेषगरी युवाहरूको सक्रिय सहभागितामा जोड दिइएको छ। डिजिटल युगमा सामाजिक जिम्मेवारीसँगै शारीरिक सक्रियतालाई प्रोत्साहन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। यात्राका विभिन्न चरणहरूमा स्थानीय समुदायसँग सहकार्य गर्दै दिगो, पारदर्शी र शान्तिपूर्ण समाज निर्माणका लागि सन्देश प्रवाह गरिने बताइएको छ।

विश्वव्यापी तनाव, विशेषगरी रुस–युक्रेन युद्धजस्ता घटनाक्रमका बीच यस्ता शान्ति अभियानको महत्व अझ बढ्दै गएको अभियानका संयोजक राजेश धाख्वाले बताए। उनले साइकल यात्रामार्फत शान्ति, सहअस्तित्व र विश्व एकताको सन्देश प्रवर्द्धन गर्न अभियान निरन्तर सक्रिय रहने उल्लेख गरे।