काठमाडौं : पूर्वशिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले आफ्नो सम्मानमा गेट बाहिर नआएको भन्दै थर्काएको भिडियो शेयर गर्दै आक्रोश पोखेका छन्।
शुक्रबार सार्वजनिक भएको उक्त भिडियोमा रास्वपा सांसद पोखरेलले हेडमास्टरले विद्यालय गेटसम्म स्वागत गर्न नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सोही भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै पुनले सांसदको व्यवहारप्रति आपत्ति जनाएका हुन्।
पुनले आफू यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ भन्दै असन्तुष्टि व्यक्त गरे। उनले सासंद भनेको जनताको नोकर भएकाले एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्ने भनाइ राखे।
‘यिनी कुन पार्टीका हुन् कुन्नी? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ। सासंद भनेको जनताको नोकर हो। एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ,’ उनले सामाजिक सञ्जालमा लेखे।
पाँच वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्ने सांसद पुनको तर्क छ। उनले भनेका छन्, ‘बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ? कि तुरुन्त माफी माग्नु पर्छ कि त सारा जनताले फिर्ता बोलाउनु पर्छ। सांसद पदको बेइज्जत नै गर्यो त।’