आईपीएल : राजस्थानको लगातार चौथो जित, आरसीबी ६ विकेटले पराजित

  • मिति : चैत्र २८, २०८२
939 Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार चौथो जित दर्ता गरेको छ।

शुक्रबार गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशालामा भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै राजस्थानले अंक तालिकामा आफ्नो पकड मजबुत बनाएको हो ।

२ सय २ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको राजस्थानले मात्र १८ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रभावशाली जित निकाल्यो । राजस्थानका लागि ध्रुव जुरेलले ८१ रनको शानदार पारी खेले भने वैभव सूर्यवंशीले ७८ रनको योगदान दिए । रविन्द्र जडेजाले २४ रन थपे ।

टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो । आरसीबीका लागि रजत पाटिदारले ६३ रनको अर्धशतकीय पारी खेले । विराट कोहलीले ३२ रन जोड्दा वेंकटेश अय्यरले २९ रन बनाए ।

यस जितसँगै राजस्थान रोयल्स ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित रोयल च्यालेन्जर्स बेंगलुरु ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा सीमित बनेको छ ।