मातृभूमि अन्तरविद्यालय यु–१४ टी–१० क्रिकेट बिहीबारदेखि, विजेतालाई ५० हजार नगद पुरस्कार

  • मिति : फाल्गुन १२, २०८२
5.3K Shares

काठमाडौंमातृभूमि स्कुलको आयोजनामा प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी–१० क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन भने बुधबार सानोठिमीस्थित विद्यालय परिसरमा गरिनेछ भने सोही दिन ट्रफी सार्वजनिक गरिने आयोजक समितिका जयराम अधिकारीले बौद्धमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहनेछ। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल सञ्चालन गरिने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले बताए। प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

विजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँ हात पार्नेछ। उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा विद्यालयकी प्रिन्सिपल प्रकृति केसी पन्तले उमेरसमूहका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिन र भावी खेलाडीलाई प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्। उनले आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिँदै पर्याप्त टिम उपलब्ध भए छात्रा विधा पनि थप्ने प्रतिबद्धता व्यक्त गरिन्।

तीनदिने प्रतियोगिताका सबै खेलहरू वान डे क्रिकेट एकेडेमी, कागेश्वरी मनोहरा नगरपालिका–विष्ट गाउँमा सञ्चालन हुनेछन्। पहिलो र दोस्रो दिन ६–६ खेल तथा अन्तिम दिन ३ खेल गरी कुल १५ खेल खेलाइने कार्यक्रम रहेको छ।