काठमाडौँ, १६ साउन । घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका पूर्व अध्यक्ष बसुरुद्धिन अन्सारीको नेतृत्वमा यो अस्पताल पुनः सञ्चालनमा ल्याइएको हो। अस्पतालको उद्घाटन बागमती प्रदेशका शिक्षामन्त्रीद्वारा गरिएको हो।
१०० शैय्याको स्वीकृति प्राप्त गरी सेवा सुरु गरेको यस शिक्षण अस्पतालले आगामी केही वर्षभित्र ३०० शैय्यामा स्तरोन्नती गर्दै एमबीबीएस तथा एमडी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। उल्लेखनीय छ कि काठमाडौँ नेशनल मेडिकल कलेजले आठ वर्षअघि नै एमबीबीएस अध्यापनका लागि सम्बन्धन पाएपनि प्राविधिक कारणले अस्पताल बन्द गरिएको थियो।

‘नयाँ ऊर्जा र प्रतिबद्धतासाथ पुनः फर्किएका छौँ’
कलेजका अध्यक्ष अन्सारीका अनुसार, ‘त्यसबेला केही प्राविधिक समस्याका कारण सम्बन्धन रोकिएको र अस्पताल बन्द भएको हो। त्यसपछि चिकित्सा शिक्षा आयोग बनेपछि उपत्यकामा १० वर्षे प्रतिबन्ध लाग्यो। तर अहिले हामी नयाँ ऊर्जा, अनुभव र प्रतिबद्धतासाथ फर्किएका छौँ।’
उनले प्रारम्भिक रूपमा ओपीडी सेवा सुरु गरिएको जानकारी दिँदै आगामी दिनमा मिर्गौला, कलेजो लगायतका प्रत्यारोपण सेवा पनि सुरु गर्ने तयारीमा रहेको बताए। अस्पताललाई मल्टी स्पेस्यालिटी सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए।
निःशुल्क ओपीडी, सेवा क्षेत्रमा छुट
अस्पताल पुनः सञ्चालनको अवसरमा प्रारम्भिक चरणमा ओपीडी सेवा पूर्णतः निःशुल्क प्रदान गरिने घोषणा गरिएको छ। साथै अन्य सेवा क्षेत्रमा पनि विशेष छुटको व्यवस्था गरिएको छ।
अस्पताल व्यवस्थापक दिलिप साहका अनुसार, जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, बाल रोग, मानसिक स्वास्थ्य, हाडजोनी, छाला तथा यौन रोग, नाक-कान-घाँटी, नसा, मुटु, किड्नी, मूत्र र छाती रोग सम्बन्धी सम्पूर्ण सेवा नि:शुल्क प्रदान गरिनेछ।
साथै, अस्पतालले २४ सैं घण्टा आपतकालीन सेवा सञ्चालन गर्ने, साथै एम्बुलेन्स, एक्स–रे, प्रयोगशाला, अल्ट्रासाउण्ड, फिजियोथेरापी सेवामा समेत छुट दिने जनाएको छ। अस्पताल परिसरमै फार्मेसी सेवा समेत उपलब्ध गराइएको छ।
अनुभवी टोलीद्वारा सञ्चालन
नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको पूर्व अनुभव बोकेको टोलीले नै यो अस्पताल पुनः सञ्चालनमा ल्याएको हो। अन्सारीले भने, “आजको दिन हर्ष, गर्व र ऐतिहासिक दिन हो। स्वास्थ्य सेवा र मेडिकल शिक्षा दुबैलाई पुनः बलियो बनाउने हाम्रो दृढ संकल्प छ। जनतालाई सुलभ, सहज र गुणस्तरीय सेवा दिनु हाम्रो कर्तव्य मात्र होइन, प्रतिबद्धता पनि हो।”
काठमाडौँ नेशनल मेडिकल कलेजले विगतको त्रुटिबाट सिक्दै नयाँ प्रणाली, अनुभवी चिकित्सक टोली र स्तरीय पूर्वाधारसहित पुनः विश्वास हासिल गर्ने उद्देश्य राखेको छ।