अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

  • मिति : बैशाख २९, २०८२
2.1K Shares

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिएको बताएका छन् ।

२५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यी कुरा बुद्धले दिएको अमूल्य उपहार भएको बताएका हुन् । ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन् ।

बुद्ध जयन्तीले हामीलाई उनको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउने प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्’, प्रधानमन्त्री ओलीको शुभेच्छा छ ।

ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गरेका छन् । ‘सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्, बुद्ध जयन्तीको हार्दिक शुभकामना, सबको जय होस्, सबलाई सुख होस्’, उनले लेखेका छन् ।