काठमाडौं : फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को सानदार जित हात पारेको छ । बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे । ब्राजिलका लागि माथिउस कुन्हाले एक गोल फर्काए । अल्भारेजले खेलको चौथो मिनेटमै थियागोल अल्माडाको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
एन्जो फर्नान्डेजले १२औं मिनेटमा नाहुल मोलिनाको पासमा गोल गरी अग्रता दोब्बर पारे । कुन्हाले २६औं मिनेटमा गोल गर्दै ब्राजिलला२ खेलमा फर्काउने संकेत देखाएका थिए । तर म्याक एलिस्टरले ३७औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमै ३-१ को अग्रता दिलाए । दोस्रो हाफमा अर्जेटिनाले एक गोल थप्यो । अर्जेन्टिनाका लागि सिमीओनीले ७४औं मिनेटमा गोल गरे । ब्राजिलमाथि जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा १४ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट २१ अंक रहेको ब्राजिल चौथो स्थानमा छ ।