स्याफ्रुबेशी–रसुवागढी सडक खण्डमा ६ ठाउँ पहिरो, २४ घन्टादेखि सवारी जाम

5.1K Shares

काठमाडौं । स्याफ्रुबेसी–टिमुरे हुँदै चिनियाँ नाका पुग्ने सडक अबरुद्ध भएको छ । सवारी साधनहरु शुक्रबारदेखि नै जाममा परेको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी केशव भट्टराईले बताए । ‘ठाउँ ठाउँमा पहिलो गएको छ, एक लेनको बाटो भएकाले पानी नरहेसम्म हटाउन पनि कठिन हुने स्थिति छ’, भट्टराईले अनलाइनखबरसँग भने, ‘टिमुरे र नौकुण्ड क्षेत्रमा विद्युत् पनि अबरुद्ध भएको छ ।’ जिल्ला प्रशासन कार्यालय, रसुवाका अनुसार जिल्लामा तीन दिनदेखि निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ ।

‘स्याफ्रुबेशी–रसुवागढी सडक खण्डमा ६ ठाउँमा पहिरो छ, गाडीहरु पास हुने स्थिति छैन’, प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पैदल यात्रा गर्न पनि असहज स्थिति छ ।’ टिमुरे क्षेत्रमा नेपाल टेलिकमको मोबाइल फोन पनि अबरुद्ध भएको प्रशासनले जनाएको छ । चिलिमे पुल छेउमा पनि ढुंगा खसेकाले ठूला गाडीहरु स्याफ्रुसम्म पुग्न सक्ने स्थिति नरहेको भनिएको छ । तत्कालका लागि सुरक्षित ठाउँमा रहन र अत्यावश्यक बाहेक यात्रा नगर्न प्रशासनले अनुरोध पनि गरेको छ ।