जापान पठाइदिने भन्दै साढे २ करोड ठगी गर्ने व्यक्ति पक्राउ

  • मिति : मंसिर ९, २०८३
463 Shares

काठमाडौँ : वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–९ बस्ने ३३ वर्षीय कृष्ण हरि दाहाल छन् ।

उनले २ करोड ४५ लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।

प्रहरीले उनलाई पक्रेर मंगलबार वैदेशिक रोजगार विभागमा पठाएको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाएर जापान पठाइदिन्छु भन्दै लामो समयसम्म झुक्क्याएर दाहाल सम्पर्कविहीन भएको आरोप छ ।

पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाएर जिल्ला प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा उनलाई पक्राउ गरिएको कार्कीले जानकारी दिए । आरोपीले पीडितहरूलाई शिर बहादुर गजुरेलको बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए । यदि कसैले रकम जम्मा गर्न आलटाल गरेमा शिर बहादुर गजुरेल आफैं हुँ भनेर रकम फिर्ता गर्ने भनी लिखित कागजसमेत गरिदिने गरेको पाइएको छ ।

हालसम्म यस प्रकरणमा १७ जना पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोही प्रकरणमा दाहाल र शिर बहादुर गजुरेलबाट ठगिएका अन्य व्यक्तिहरूलाई पनि सम्पर्कमा आउन भनेको छ ।