काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह बालेन र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री साहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे लक्सनलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री साहले पाँच जना न्यूजिल्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताए । उनले न्यूजिल्याण्डले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायताप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।
प्रधानमन्त्री साहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोगको लागि हार्दिक अनुरोध गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार टेलिफोन वार्तामा न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्यूजिल्याण्ड सरकार तथा जनताको तर्फबाट हार्दिक समवेदना र ऐक्यबद्धता व्यक्त गरेका थिए ।