काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशले महाप्रलयको सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
सिरहाको मिर्चैया नगरपालिका-५ स्थित मोहन नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भर्खरै रसुवाको भोटेकोशीमा आएको बाढीको महाविपत्तिले देश संकटमा परेकाले सबैलाई सहयोग गर्न अपिल गरेका हुन्।
बाढीका कारण देश राष्ट्रिय शोकको घडीमा रहेको उल्लेख गर्दै उनले भने, ‘यो संकटको घडीमा मधेसले अपार सहयोग गरिरहेको छ। पहाडमा संकट परेको बेला मधेसले र मधेसमा विपद् परेको बेला पहाडले सहयोग गर्ने हाम्रो संस्कृति नै हो। आज पनि तराई मधेसको सहयोग अतुलनीय छ।’
मधेसवासीले गरेको सहयोगप्रति धन्यवाद दिँदै उनले हिमाली क्षेत्रको सुरक्षाका विषयमा जोड दिए। उनले भने, ‘हिमाली क्षेत्रका जनताको सुरक्षा र यहाँको माटोको रक्षाका लागि विश्व समुदायलाई पहिलादेखि नै आह्वान गर्दै आएको छु। यो विध्वन्सले हामीले हिमाली क्षेत्रका जनता र यहाँको पर्यावरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा एकमतले आवाज उठाउनुपर्ने आवश्यकता देखाएको छ।’
आफू पटक-पटक तराई, मधेस, हिमाल, पहाड र काठमाडौँका जनताबाट अनुमोदित भएको स्मरण गर्दै उनले सिरहाकै जनताले निर्वाचित गराएर आफूलाई दोस्रो पटक प्रधानमन्त्री बनाएको उल्लेख गरे। उनले थपे, ‘मलाई सिरहाली जनताप्रति अगाध स्नेह र प्रेम छ। मैले यहाँका जनता र शिक्षक सबैलाई राम्रोसँग चिनेको छु। यहाँ आवश्यक पर्ने सहयोगका लागि आज पनि तयार छु।’
विद्यालयको भवन शिलान्यास आफैँले गरेको स्मरण गर्दै उनले भने, ‘यस विद्यालयको भवन शिलान्यास पनि मैले नै गरेको थिएँ, आज भवनको उद्घाटन गर्ने अवसर मिल्यो। यस विद्यालयसहित यस क्षेत्रका विद्यालयलाई आवश्यक सहयोग गर्न म अझै तत्पर छु।’
सङ्घीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत निर्मित ९/९ कोठे चारवटा भवनहरूको उनले उद्घाटन गरेका हुन्। मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य तपेश्वर यादव, सिरहा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, मिर्चैया-७ स्थित बाजु माविका प्रधानाध्यापक फुलगेन नायक र सगरमाथा बोर्डिङ स्कुलका संस्थापक प्रदीप तिवारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। शुक्रबारसम्म चल्ने विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन कार्यक्रममा विद्यार्थीहरूले बनाएका सामग्रीहरूको अवलोकन पनि गरिएको थियो।