काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको घडीमा सरकार र प्रतिपक्षीको आँखाले भन्दा पनि राष्ट्रिय एकताको भावले हेर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले बाढी पहिरोका सन्दर्भमा सरकारले गरिरहेको उद्धार तथा राहत कार्यको प्रशंसा गरे ।
सभापति लामिछानेले भने– ‘विपत्तिमा सरकार र प्रतिपक्षीको आँखाले हेर्नुहुँदैन। अहिले राज्यले मलवाहक र भग्नावशेषमा हराएका मानव जीवनको खोजी गरिरहेको छ। यस्तो संवेदनशील समयमा हवाई उद्धार र राहत वितरणमा सरकारले देखाएको व्यवस्थापन र सक्रियता वास्तवमै प्रशंसनीय छ।’
प्रतिकूल मौसम र बाटोको अवरोधका बाबजुद उद्धारकर्मीहरूले जोखिम मोलेर घटनास्थलमा पुगेर गरेको कार्यको उनले उच्च कदर गरे । उनले भने, ‘हवाई उद्धारको यति ठुलो र व्यवस्थित प्रयास यसअघि विरलै देख्न पाइएको थियो। विपत्ग्रस्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिएको छ।’
सभापति लामिछानेले केही क्षेत्रबाट भइरहेको राजनीतिक खिचातानीप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने ‘म देखिरहेको छु, अझै पनि कसलाई कसरी तल खसाल्ने भन्ने खेलमा केही मानिसहरू राजनीतिक रोटी सेक्न लागिपरेका छन्। अहिलेको समय राजनीति गर्ने होइन, नागरिक बचाउने र भविष्यमा यस्ता विपत्ति भोग्न नपरोस् भनेर बलिया संरचनाको खाका कोर्ने हो।’
सभापति लामिछानेले विपत्तिको यो कठिन समयमा राज्यको संयन्त्र र नागरिक समाज एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सरकारको कामलाई सकारात्मक रूपमा लिइएको बताए ।