काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो २०औँ वार्षिक साधारण सभा आगामी असोज १६ गते शुक्रबार आयोजना गर्ने भएको छ। बैंकले साधारण सभा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहान ९ बजे शुरु हुनेछ।
सभामा बैंकको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको लाभांश अनुमोदन गरिनेछ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्नेछ। नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ।
यसैगरी, सभाबाट बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय गरिने बैंकले जनाएको छ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन शेयर दाखिला खारेज (बुकक्लोज) गर्ने भएको छ। बुकक्लोज हुनुअघि अर्थात् असोज २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम रहेका शेयरधनीले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकको प्रस्तावअनुसार ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी शेयरधनीले कुल १० प्रतिशत लाभांश पाउनेछन्।