रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

  • मिति : भदौ २२, २०८३
514 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन संवाद भएको छ ।

टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशीमा आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै नेपाली जनता र सरकारप्रति ऐक्यबद्धता जनाएका छन् ।

जवाफमा सभापति लामिछानेले जारी खोज, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए । साथै, उनले नेपाली नागरिकका साथै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल उत्तिकै प्रतिबद्ध रहेको कुरामा विदेशमन्त्री रुबियोलाई आश्वस्त पारेका थिए ।

उनले यस कठिन घडीमा अमेरिकी सरकारले दर्शाएको सद्भाव र पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे ।

वार्ताका क्रममा विदेशमन्त्री रुबियोले नेपाल सरकार र प्रभावितहरूका लागि अमेरिका थप सहयोग उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।