कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

  • मिति : भदौ २२, २०८३
412 Shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ।

आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो। आजको बैठकमा छलफल पश्चात् प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसङ्घमा नेपालको तर्फबाट उठाउने विषयवस्तुहरूका बारेमा सुझाव दिने कार्यसूची रहेको छ।

यस्तै, भोटेकोशी बाढी पहिरोका कारण धेरै ठाउँको जनजीवन प्रभावित भएकाले यही भदौ २४ गते हुने वडा अधिवेशनको मितिमा पुनःविचार गर्न अनुरोध गर्ने तयारी रहेको छ।

यसअघि, आइतबार पार्टीका सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बसेको बैठकको सुरुमा यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितसँग भेटघाट र छलफल पश्चात् त्यहाँको यथार्थ वस्तुस्थितिका बारेमा सभापति थापाले बैठकलाई जानकारी गराएका थिए।

आइतबारको बैठकमा १७ जनाले आफ्नो धारणा राखेका थिए।

आइतबारको बैठकमा सह–महामन्त्रीद्वय फरमूल्लाह मन्सुर र बहादुरसिंह लामा, सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, ई मोहन आचार्य, प्रा डा गोविन्दराज पोखरेल, भरतकुमार शाह, सुधीरकुमार शिवाकोटी तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश) र ललितजङ्ग शाही (कर्णाली प्रदेश)ले आ–आफ्नो धारणा राखेका थिए।