भोटेकोशी बाढीले सम्पूर्ण नेपालीको छातीमा पीडा दियो : प्रधानमन्त्री बालेन

  • मिति : भदौ १७, २०८३
191 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीले सम्पूर्ण नेपालीको छातीमा पीडा दिएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीले क्षणभरमै धेरैका आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लगेको भन्दै गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीको छातीमा पीडा दिएको बताएका हुन् ।

‘भोटेकोशीमा आएको बाढीले क्षणभरमै आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो,’ उनले संसदमा भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सम्पूर्ण नेपालीको छातीमा परेको पीडा हो ।’

प्रधानमन्त्री शाहले अहिले शोक मनाउन समय नभएको बताए। उनले खोज तथा उद्धार जारी रहेको बताएका छन्। ‘हामी विपद्सँग लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने।

मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय नभएको उनको भनाइ छ । उनले घाइते शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनु भएका नागरिकहरूको पीडामा गहिरो महसुस गरेको बताए।