सरकारसँग छैन शव प्याक गर्ने झोला, भारतबाट ल्याइँदै

  • मिति : भदौ १२, २०८३
327 Shares

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलामा बढेको बहावका कारण भोटेकोशीको बाढीले बगाउँदा अहिलेसम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । सैनिक, प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरूले भोटेकोशीले बगाएर ल्याएका शवहरू नदी तटीय क्षेत्रबाट सङ्कलन गरिरहेका छन् ।

नुवाकोट, धादिङ, चितवन, गोरखा, नवलपरासी पूर्व, तनहुँ र पश्चिम नवलपरासीको नदी तटमा शव भेटिएको छ । बाढीमा परेर मृत्यु भएकाहरूको शव सङ्कलन गर्न सरकारसँग पर्याप्त झोला अभाव देखिएको छ । शव प्याक गर्न प्रयोग गरिने झोला अभाव भएपछि सरकारले भारतबाट झोला झिकाएको छ ।

शव व्यवस्थापनका लागि आवश्यक झोला भारतबाट मगाइएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । उनले भने– ‘६ हजार थान ब्याग मगाएका छौँ, आज आउँदै छ ।’

नदी तटमा भेटिएका शवहरू न्यून सङ्ख्यामा मात्र सनाखत भएको छ । सुरक्षा अधिकृतहरूका अनुसार अहिलेसम्म ६ जनाको मात्र शव पहिचान गरेर पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको छ ।