रसुवा बाढी : रौतहटका सम्पर्कविहीनमध्ये ६ जना भेटिए, प्रहरीसहित १० जना अझै बेपत्ता

  • मिति : भदौ १२, २०८३
429 Shares

रौतहट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका रौतहटका नागरिकमध्ये ६ जना परिवारको सम्पर्कमा आएका छन् । तर, एक प्रहरी हवलदारसहित १० जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

गत बुधबार आएको बाढीपछि रोजगारी तथा विभिन्न कामका सिलसिलामा रसुवामा रहेका रौतहटका १६ जना नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो । उनीहरूको खोजी भइरहेका बेला ६ जना सम्पर्कमा आएको प्रशासनले जनाएको हो ।

रौतहटका सिडिओ दिनेशसागर भुषालले शुक्रबार सूचना जारी गर्दै सम्पर्कमा आएका र अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेका छन् ।

यी ६ जना परिवारको सम्पर्कमा

प्रशासनका अनुसार ईशनाथ नगरपालिका–४ का मोहम्मद एजार (शेख मञ्जिल), चन्द्रपुर नगरपालिका–४ का सम्राट सिलवाल र पवित्रा सिलवाल तथा गढीमाई नगरपालिका–७ का मोबिदा खातुन, सविना खातुन र सलमान अन्सारी परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् ।

१० जनाको अवस्था अझै अज्ञात

तर, गरुडा नगरपालिका–१ का सुधिर कुमार साह (३४), वृन्दावन नगरपालिका–२ का गौरव कुमार राउत (३४), वृन्दावन नगरपालिका–३ पिपरा गोठहटका समिर मन्सुरी (३२) र गौर नगरपालिका–९ का प्रहरी हवलदार नवीनकुमार सिंह (३५) अझै सम्पर्कविहीन छन् ।

त्यस्तै, गुजरा नगरपालिका–८ पिपरा गोठहटका इशलाम खाँ (३६), राजदेवी नगरपालिका–९ की संगिता देवी (५०), सोही स्थानका राहुल कुमार (२५), चन्द्रपुर नगरपालिका–३ गैडाटारका विवेक दवाडी (२६), सोही स्थानका रणबहादुर तिमिल्सिना (२८) र राजदेवी नगरपालिका–२ का रामविनोद भगत (४२) पनि सम्पर्कमा आएका छैनन् ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि रौतहटका नागरिकसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको जनाएको छ ।

प्रशासनले सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तलाई आफ्ना नजिकका सुरक्षा निकाय वा स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ ।