खाद्य विभागको छापा : कृत्रिम रंग, म्याद गुज्रिएको सोयाचंक र लेबलविहीन क्रोसंट नष्ट

  • मिति : भदौ ८, २०८३
191 Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौंका दुई खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन तथा निरीक्षण गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम भदौ ३ गते अनुगमन गरेको हो।

विभागका अनुसार काठमाडौं–३ पानीपोखरीस्थित आई.एफ.सी.एच. किचन प्रा. लि. मा ढुसी परेको डुनट बिक्री गरिएको भन्ने गुनासोका आधारमा निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा भान्साको सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सन्तोषजनक नदेखिएको र कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नभएको पाइएको छ।

तर, डुनट फ्राई गर्न प्रयोग गरिएको तेलको टीपीएम (TPM) ११.५ प्रतिशत रहेको र मापदण्डअनुकूल पाइएको विभागले जनाएको छ। निरीक्षणका क्रममा १०० ग्रामका पाँच बट्टा कृत्रिम खाद्य रंग, उपभोग्य मिति समाप्त भएको २०० ग्रामका दुई प्याकेट सोयाचंक तथा लेबल विवरण नभएका ११ पिस क्रोसंट फेला परेका थिए। भने गुनासोमा उल्लेख भएअनुसार ढुसी परेको डुनट भने फेला नपरेको विभागले जनाएको छ।

विभागले पाँच बट्टा कृत्रिम खाद्य रंग, म्याद गुज्रिएका दुई प्याकेट सोयाचंक र लेबल विवरण नभएका ११ पिस क्रोसंट नष्ट गरेको छ। साथै, अनुगमनका क्रममा देखिएका कैफियत सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन व्यवसायीलाई निर्देशन दिइएको छ।

त्यस्तै, काठमाडौं–१ कमलपोखरीस्थित कृष्ण पाउरोटी एण्ड कन्फेक्सनरी मा तयारी खाद्य पदार्थमा बाहिरी वस्तु भेटिएको भन्ने गुनासोका आधारमा अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा निर्माण कार्य भइरहेको, बेकरी पदार्थ सिल नगरी बिक्री वितरण गरिएको तथा पकाउने खाद्य पदार्थमा समेत कृत्रिम खाद्य रंग प्रयोग गर्ने गरेको पाइएको विभागले जनाएको छ।

उक्त व्यवसायले तीन वटा उत्पादनका लागि मात्र खाद्य अनुमतिपत्र लिएको पाइएको थियो। विभागले निर्माण कार्य र खाद्य उत्पादनको समय अलग गर्न, अनुमतिपत्र लिएका खाद्य पदार्थबाहेक अन्य उत्पादन बन्द गर्न तथा आवश्यक उत्पादनका लागि अनुमतिपत्र थप गर्न निर्देशन दिएको छ।

त्यसैगरी, बेकरी पदार्थ सिल गरेर मात्र बिक्री वितरण गर्न र पकाउने प्रयोजनमा कृत्रिम खाद्य रंग प्रयोग नगर्न पनि निर्देशन दिइएको विभागले जनाएको छ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार आकस्मिक ‘र्‍यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत गरिएको उक्त अनुगमनमा कुल दुई वटा खाद्य व्यवसाय निरीक्षण गरिएको हो।