देशको राष्ट्रिय स्वाधीनता सुगौली सन्धियताकै ठूलो संकटमा छ : प्रचण्ड

  • मिति : भदौ ७, २०८३
276 Shares

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको स्वाधीनतामा अभूतपूर्व संकट उत्पन्न भएको दाबी गरेका छन् । सुगौली सन्धिपछि यस्तो संकट नेपालले पहिलोपटक भोग्नुपरेको उनको विश्लेषण छ । आज काठमाडौंमा आयोजित ‘कम्युनिष्ट एकता सहकार्य र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो विश्लेषण सुनाएका हुन् ।

उनले भने, ‘यो कुरा साँचो हो, अहिले देश साच्चै संकटमा छ । सबैभन्दा ठूलो कुरो राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो संकट देखापरेको छ, सायद सुगौली सन्धिपछि यति भयानक संकट नेपालले भोग्नु परेको थिएन । त्यस्तो संकटबाट गुज्रेको छ ।’ उनले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलन, राष्ट्रवादी आन्दोलन र कम्युनिष्ट आन्दोलनको बीचमा नङमासुको सम्बन्ध हुने बताए ।

प्रचण्डले थपे, ‘६ सालमा पार्टी गठन भएदेखि ७ साल वरिपरिदेखि आजसम्म आउँदा देशभक्तिपूर्ण आन्दोलनको नेताको रूपमा कम्युनिष्ट आन्दोलन र पार्टीले निरन्तर जनताको पक्षमा लडिराख्या छ । र, अहिले पनि राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति एकताको अर्को कुनै विकल्प छँदै छैन । हामीले अहंकार गरेर या कुनै खालको मनोगतवादी भ्रममा फेरि फस्ने गल्ती गर्नु हुँदैन ।’