शाही युवा शक्तिद्वारा पूर्वराजा शाहसँग भेटवार्ता

  • मिति : भदौ ७, २०८३
276 Shares

काठमाडौँ : देशमा पछिल्लो समय राजसंस्था र हिन्दूराष्ट्र पुनर्थापनाका स्वरहरू सुनिने क्रम बढ्दो छ। यसै सन्दर्भमा राजसंस्था फर्काउने मूल एजेन्डासहित सक्रिय ‘शाही युवा शक्ति’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग महत्त्वपूर्ण भेटवार्ता गरेको छ।

शनिबार शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिले पूर्वराजा शाहलाई भेटी आफ्ना भावी योजना र अभियानबारे जानकारी गराएको स्रोतले जनाएको छ।

भेटका क्रममा शाही युवा शक्तिको टोलीले राजसंस्था पुनर्स्थापनाको पक्षमा देशभरबाट ८० प्रतिशत नेपाली नागरिकको हस्ताक्षर सङ्कलन गर्ने आफ्नो अभियानबारे पूर्वराजा शाहलाई ‘ब्रिफिङ’ गरेको बताइएको छ ।

अध्यक्ष खड्कासहितका पदाधिकारीहरूले आफ्नो सङ्गठन हिन्दू राष्ट्र र राजसंस्था पुनर्थापनाको एजेन्डामा अविचलित रूपमा अघि बढिरहेको र यसलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने प्रतिबद्धतासमेत पूर्वराजा शाहसामु व्यक्त गरेको कार्यसमितिका एक सदस्यले बताएका छन् ।

यसैबीच, शाही युवा शक्तिका पदाधिकारी र सदस्यहरुले पूर्वराजा शाहसँगै पूर्व युवराज्ञी हिमानी शाह, पूर्व नवयुवराज हृदयेन्द्र शाहलगायत राजपरिवारका सदस्यहरुलाई पनि भेटेका थिए ।