प्रतिस्पर्धा गरौं तर कांग्रेसलाई विभाजित नगरौं : शशांक कोइराला

  • मिति : साउन ३०, २०८३
344 Shares

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रिय भेला आयाेजक समितिका संयाेजक डा शशांक काेईरालाले भेलाको उद्घाटन सत्रमा देखिएको यो सहभागिताले अत्यन्तै उत्साहित भएको बताएका छन् । सामाजिक संजालमार्फत भेलामा सहभागिलाई सम्बाेधन गर्दै उनले यसले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउनका लागि ठूलो दबाब सिर्जना गरेको आफुले महसुश गरेकाे उल्लेख गरे ।

मैले महसुस गरेको छु। उनले भने- ,”तपाईंहरूले आफ्नो सहभागितामार्फत देखाएको यो ऊर्जा र प्रतिबद्धताले मलाई नेपाली कांग्रेसभित्रका गुटका पर्खालहरू भत्काएर अग्रज र युवाबीचको पुल बन्न, नेता र कार्यकर्ताबीचको दूरी घटाउन तथा प्रतिशोधको होइन, मेलमिलापको राजनीतिलाई अगाडि बढाउन थप हौसला दिएको छ।”

उनले २०३३ सालमा वीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको समयको स्मरण गर्दै आज पनि नेपालकाे राष्ट्रियताकाे अवस्था उस्तै रहेकाे उल्लेख गर्दै भने – “अहिले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर चुनौती देखापरेका छन्। यो चुनौतीहरूको सामना नेपाली कांग्रेसको बृहत्तर एकताले मात्र गर्न सक्छ भन्ने मेरो विश्वास छ।

त्यसैले अबका दुई दिन तपाईंहरू सबैले नेपाली कांग्रेसको बृहत्तर एकता र हाम्रो राष्ट्रियता जोगाउनका लागि अझ बढी मेहनत गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु।” डा कोईरालाले उद्घाटन सत्रमै आफूले यस राष्ट्रिय भेलाको आवश्यकता नेपाली कांग्रेसको बृहत्तर एकताका लागि भएको स्पष्ट पारेको भन्दै कांग्रेस कुनै एक व्यक्तिले मात्र बनाउन नसक्ने बताए ।

उनले भने – “व्यक्तिले पार्टीमाथि नियन्त्रण गर्न सक्ला, तर पार्टी निर्माण गर्न सक्दैन। कांग्रेस बनाउन लाखौँ लाख नेता–कार्यकर्ता चाहिन्छन्। अग्रजहरूको अनुभव, युवाको ऊर्जा र जनताको विश्वास चाहिन्छ। यही उद्देश्यका साथ कांग्रेसलाई कसरी एकताबद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न यो राष्ट्रिय भेला आयोजना गरिएको हो।”

उनले नेपाललाई फेरि एकपटक राष्ट्रिय मेलमिलापको आवश्यक रहेकाे भन्दै भने – “त्यो मेलमिलाप भनेको कांग्रेसभित्र बृहत्तर एकता कायम गर्दै लोकतन्त्रवादी शक्तिहरूबीच सहकार्य र समझदारी स्थापित गर्नु हो। त्यो मेलमिलाप सबै भाषा, धर्म, जातजाति र भूगोलबीचको एकता र सद्भावको प्रतीक हो।”

डा काेईरालाले राष्ट्रिय मेलमिलाप र बृहतर कांग्रेस एकताका लागि एउटा दृढ संकल्प गर्नुपर्ने बताउदै भने – “प्रतिस्पर्धा गरौँ, तर कांग्रेसलाई विभाजित नगरौँ। विचारमा बहस गरौँ, तर मनमा दूरी नबढाऔँ। पुस्ता बदलौँ, तर इतिहास नबिर्सौँ।  नेतृत्व परिवर्तन गरौँ, तर कांग्रेसको आत्मा नबदलौँ। विगतका संघर्षलाई स्मरण गर्दै अब निर्माणमा जुटौँ। आरोप–प्रत्यारोप होइन, आत्मसमीक्षा गरौँ। विभाजित मनलाई समेट्दै सहकार्य र एकताको नयाँ अध्याय सुरु गरौँ।”

डा काेईरालाले लाई राष्ट्रिय भेलाका दुई दिन आगामी सहभागिहरूले यिनै विषयमा केन्द्रित भई नेपाली कांग्रेसको बृहत्तर एकताका लागि आफूलाई थप बल, ऊर्जा र मार्गदर्शन दिनुहुने विश्वास व्यक्त गरेका छन् ।