आदिवासी जनजातिको पहिचान र अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

  • मिति : साउन २४, २०८३
378 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आदिवासी जनजाति समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा, ज्ञान र सीपको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न लुम्बिनी प्रदेशको समृद्धिमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका हुन् ।

उनले विभिन्न आदिवासी जनजाति समुदायले पुस्तौँदेखि आफ्ना मौलिक भाषा, संस्कृति, संस्कार, परम्परा, कला, साहित्य, ज्ञान, सीप र जीवनपद्धतिको संरक्षण गर्दै प्रदेशको सामाजिक तथा सांस्कृतिक पहिचानलाई समृद्ध बनाउँदै आएको बताए । थारू, मगर, गुरुङ, नेवारलगायत आदिवासी जनजाति समुदायको मौलिक संस्कृति र परम्परा लुम्बिनी प्रदेशको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले नेपालको संविधानले समानता, सामाजिक न्याय, समावेशिता, सहभागिता तथा सांस्कृतिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै संविधानको मर्मअनुसार सबै जातजाति, भाषा, धर्म, समुदाय र संस्कृतिको समान सम्मान, पहिचान र अधिकारको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताए ।

लुम्बिनी प्रदेश सरकार समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको सुनिश्चिततामार्फत प्रदेशको समग्र विकास गर्ने दिशामा अघि बढिरहेको उनले बताए । विकासको प्रतिफल समाजका सबै वर्ग, समुदाय र भूगोलसम्म समान रूपमा पुग्नुपर्ने मान्यताका साथ नीति, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा विविध समुदायको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

आदिवासी जनजाति समुदायसँग रहेको परम्परागत ज्ञान, सीप, प्रविधि, भाषा, कला, संस्कृति र जीवनपद्धति अमूल्य सम्पत्ति भएको बताउँदै मुख्यमन्त्री आचार्यले आधुनिक विकाससँगै मौलिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । मौलिक संस्कृति र पहिचानको संरक्षणलाई आर्थिक तथा सामाजिक सशक्तीकरणसँग जोड्नुपर्ने बताउँदै उनले आदिवासी जनजाति समुदायका युवापुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरे ।