गुनासोपछि आकस्मिक अनुगमन: दुई खाद्य व्यवसायलाई सुधार गर्न निर्देशन

  • मिति : साउन २०, २०८३
446 Shares

काठमाडौं ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिका को संयुक्त बजार अनुगमन टोलीले प्राप्त गुनासोका आधारमा साउन १९ गते काठमाडौंका तीन खाद्य व्यवसायमा आकस्मिक अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार निर्देशन तथा कारबाही गरेको छ।

विभागका अनुसार साउन १८ गते गरिएको अनुगमनमा टोखा–८ स्थित एन. एस. ग्रुप इन्डस्ट्रीज प्रा.लि. मा सरसफाइमा कमी, कुच्चिएका पानीका जार प्रयोग गरिएको, टायल टुटफुट तथा लेउ लागेको, प्रशोधित पानीले जार सफा नगरिएको र जार प्याकेजिङअघि यूभी (UV) शुद्धीकरण नगरिएको भेटिएको थियो। उजुरीमा उल्लेख भएअनुसार जारको पानीमा भने किरा फेला नपरेको विभागले जनाएको छ।

उक्त उद्योगलाई सरसफाइ नियमित गर्न निर्देशन दिइएको छ भने कुच्चिएका १२ वटा जार नष्ट गरिएको छ। साथै टुटफुट तथा खिया लागेको टायल मर्मत गरी प्रमाण विभागमा पेश गर्न र आवश्यक सुधार गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

त्यस्तै, काठमाडौं महानगरपालिका–२ गैरीधारास्थित लोकल थकाली रेस्टुरेन्ट एन्ड बार प्रा.लि. मा सरसफाइ असन्तोषजनक रहेको, भान्सा र भाँडा माझ्ने स्थान एउटै रहेको, कृत्रिम खाद्य रंग प्रयोगका लागि राखिएको तथा फ्रिजमा काँचो, पकाइएको, दुग्धजन्य र मासुजन्य खाद्य पदार्थ एउटै स्थानमा राखिएको पाइएको विभागले जनाएको छ। यद्यपि उजुरीमा उल्लेख भएअनुसार राम्ररी नपाकेको काँचो खानेकुरा बिक्री गरेको भने नदेखिएको विभागको भनाइ छ।

रेस्टुरेन्टमा पूर्ण लेबल विवरण नभएका तीन प्याकेट मःम र चार प्याकेट चाउमिन नष्ट गरिएको छ। साथै दुई बट्टा कृत्रिम खाद्य रंग पनि नष्ट गरी त्यसलाई पकाइने वा तारिने खाद्य पदार्थमा प्रयोग नगर्न निर्देशन दिइएको छ। भान्सा र भण्डारण कक्ष सुधार गरी तीन दिनभित्र प्रमाणसहित विभागलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माद्वारा जारी विवरणअनुसार यस पटक कुल दुई खाद्य व्यवसायको अनुगमन गरिएको हो।