काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको विशेष अभियानमा अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, काठमाडौं उपत्यकाबाट आठ, कोसी प्रदेशबाट १४, मधेस प्रदेशबाट ११, वाग्मती प्रदेशबाट पाँच, गण्डकी प्रदेशबाट १८, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट पाँचजना पक्राउ परेका हुन् ।
उनीहरूबाट चाइनिज पेस्तोल दुई थान, पेस्तोल दुई थान, रिभल्भर एक थान, कटुवा पेस्तोल नौ थान, भरुवा बन्दुक ४१ थान, बन्दुक नौ थान र एयरगन तीन थान बरामद भएको छ ।
त्यसैगरी, चाइनिज पेस्तोलका चार राउन्ड, एसएलआरका २६३ राउन्ड, कटुवा पेस्तोलका १४ राउन्ड तथा विभिन्न प्रकारका बन्दुकमा प्रयोग हुने ७० राउन्ड गोलीसमेत बरामद भएको छ ।
नेपाल प्रहरीले हातहतियार लुकाएर राखिएको जानकारी भएमा सूचना दिन तथा त्यस्ता हतियार स्वेच्छाले बुझाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।