नेपालगञ्ज । प्रहरीले बाँकेमा नगद पाँच लाख रुपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा सोमबार दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त टोलीले ५२६ दशमलव २९० ग्राम लागुऔषध समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारीका साथबाट १३६ ग्राम ८५० मिलिग्राम लागुऔषध फेला पारेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अजयकुमार जयशवालका साथबाट ३८९ ग्राम ४५ मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार उनीहरुका साथबाट भारतीय रुपैयाँ दुई लाख एक हजार ४०० रकम र एक लाख ८० हजारसहित पाँच लाख दुई हजार २४० रुपैयाँ बरामद भएको छ । प्रहरीले उनीहरुबाट एक थान डिजिटल तराजु र दुई थान मोबाइल समेत बरामद भएको जनाएको छ ।
उनीहरुमाथि लागुऔषध कारोबारमा मुद्दा चलाई मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरिने प्रहरी नायब उपरीक्षक राठौरको भनाइ छ । पछिल्लो समय दिनहुँजसो नेपालगन्जमा लागुऔषध कारोबारी धमाधम पक्राउ परेका छन् ।