काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–५ मा दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न भएको छ।
टेकप्रसाद गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेनुका चौलागाईं प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा प्रमुख कृषि विकास कार्यालयका कुलप्रसाद दवाडी, खाद्यका लागि कृषि अभियान (AFA) का उद्धव अधिकारी, कृषि पत्रकार प्रतिष्ठानका सुरेश यादव तथा वडा नं. ५ का अध्यक्ष कृष्णप्रसाद गौतमलगायत कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवाला, कृषक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कोदो खेतीको महत्व, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि, प्रशोधन तथा बजारीकरणका विषयमा छलफल गरिएको थियो। वक्ताहरूले कोदो पौष्टिक अन्न मात्र नभई कृषकको आयआर्जन बढाउने महत्वपूर्ण बाली भएकाले यसको व्यावसायिक उत्पादन विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रमुख अतिथि रेनुका चौलागाईंले स्थानीय तहले परम्परागत तथा रैथाने बालीको संरक्षणसँगै कृषकलाई प्रविधि, तालिम र बजार व्यवस्थापनमा आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा सहभागीहरूले कोदो उत्पादनलाई प्रवर्द्धन गर्दै स्थानीय कृषकको आर्थिक अवस्था सुदृढ बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। दोस्रो कोदो दिवसले रैथाने बालीको संरक्षण, खाद्य सुरक्षा तथा कृषकको आय वृद्धि गर्ने अभियानलाई थप ऊर्जा दिएको आयोजकले जनाएको छ।