बल्ल होस आयो, तर नैतिकता खै ? : शंकर पोखरेल

  • मिति : साउन १४, २०८३
446 Shares

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालैको निर्णयप्रति प्रतिक्रिया जनाउँदै विगतका गतिविधिप्रति सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले आत्महत्या र आत्मदाहजस्ता अत्यन्तै संवेदनशील तथा दुखद मानवीय घटनालाई विगतमा घृणा र आक्रोशको राजनीतिक माध्यम बनाएको आरोप रास्वपामाथि लगाएका छन्।

उनले अहिले रास्वपाले त्यस्ता घटनासम्बन्धी समाचार चर्चा वा सेयर नगर्ने निर्णय गरेको भन्दै उक्त निर्णयलाई स्वागतयोग्य भनेका छन्। तर, विगतमा सस्तो लोकप्रियता हासिल गर्न फैलाइएको भ्रम, देखाइएको छुद्रता र निर्माण गरिएको भाष्यप्रति सार्वजनिक रूपमा क्षमायाचना आवश्यक रहेको उनको भनाइ छ।

पोखरेलले राजनीतिक परिपक्वता र इमानदारी केवल परिस्थिति अनुसार नीति परिवर्तन गर्नुमा नभई विगतका गल्ती स्वीकार गर्दै माफी माग्न सक्ने क्षमतामा देखिने उल्लेख गरेका छन्।

‘बल्ल होस आयो, तर नैतिकता खै? आत्महत्या र आत्मदाहजस्ता अत्यन्तै संवेदनशील एवं दुःखद मानवीय घटनामा समेत विगतमा घृणा र आक्रोशको राजनीति गर्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले, अहिले सत्तामा पुगेपछि त्यस्ता घटनाका समाचार चर्चा/सेयर नगर्ने निर्णय गरेछ। निर्णय आफैँमा स्वागतयोग्य छ, तर विगतमा सस्तो लोकप्रियताका लागि फैलाइएको भ्रम, देखाइएको छुद्रता र चलाइएको भाष्यप्रति सार्वजनिक क्षमायाचना खोइ?’ उनले भनेका छन्, ‘राजनीतिक परिपक्वता र इमानदारी केवल स्थिति हेरेर नीति बदल्नुमा होइन, विगतका गल्तीहरू सहर्ष स्वीकार गर्दै माफी माग्नुमा देखिन्छ!’