हेटौंडा । बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले शिक्षालाई रोजगारसँग जोड्न सके अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या उल्लेख्य रूपमा घटाउन सकिने बताएका छन् ।
हेटौंडा–६ चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसको छैटौं क्याम्पस सभा तथा क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै सांसद श्रेष्ठले शिक्षा प्रणालीलाई रोजगारीमुखी बनाउन आवश्यक रहेको बताएका हुन् ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले अधिकतम बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले स्थानीय क्षेत्रमा उल्लेखनीय विकास गरेको दाबी गरे ।
यस्तै, सांसद श्रेष्ठले वंशगोपाल बहुमुखी क्याम्पसलाई मकवानपुरको पूर्वी क्षेत्रको शैक्षिक गहनाका रूपमा विकास गर्न आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘जबसम्म पढ्दै कमाउँदैको अवधारणा पूरा हुँदैन तबसम्म अध्ययन गर्न विदेश जाने क्रमलाई रोक्न सकिँदैन ।’ उनले भने ।
यसैबीच, क्याम्पस सभाको बन्दसत्रले विश्वराज राईको अध्यक्षतामा आठ सदस्यीय नयाँ क्याम्पस व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरेको छ । समितिको उपाध्यक्षमा पूर्णभद्र चौलागाईं चयन भएका छन् भने सदस्यहरूमा पुष्पराज अधिकारी, उदय बिडारी, विक्रम सञ्जेल, शुभद्रा तिमल्सिना, भरत सापकोटा र समाधान सापकोटा रहेका छन् ।
१३ सदस्यीय समितिमा थप पाँच सदस्य मनोनयन गर्ने व्यवस्था रहेको जनाइएको छ । सभामा क्याम्पसका अध्यक्ष उज्ज्वल चौलागाईंले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्याम्पसमा हाल १७५ विद्यार्थी अध्ययनरत छन् । दुईतले पाँचकोठे क्याम्पस भवन ७५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।