स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोड बढी दाबी भुक्तानी

  • मिति : साउन ८, २०८३
395 Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

बोर्डका अनुसार अघिल्लो आर्थिक वर्षका बाँकी दाबी तथा चालु आर्थिक वर्षको पुस मसान्तसम्म स्वीकृत भएका दाबी रकम चरणबद्ध रूपमा भुक्तानी गरिएको हो ।

बोर्डले यसअघि असोज, कात्तिक र मंसिरसम्म प्राप्त तथा स्वीकृत दाबीको रकम निकासा गरिसकेको थियो । पछिल्लो चरणमा पुस महिनासम्म स्वीकृत भएका दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा जम्मा गरिएको जनाएको छ ।

यस भुक्तानीसँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत भएका सबै दाबीको भुक्तानी सम्पन्न भएको बोर्डले स्पष्ट पारेको छ ।

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सेवा प्रदायक संस्थालाई समयमै दाबी भुक्तानी गर्ने नीति अपनाइएको छ । दाबी भुक्तानी प्रक्रिया नियमित, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुधारलाई निरन्तरता दिइएको बोर्डको भनाइ छ ।

समयमै भुक्तानी हुँदा सेवा प्रदायक स्वास्थ्य संस्थाको वित्तीय व्यवस्थापन सहज हुने र स्वास्थ्य बीमा सेवाप्रति सेवाग्राहीको विश्वास थप मजबुत हुने अपेक्षा बोर्डले गरेको छ ।