त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ

  • मिति : साउन ७, २०८३
514 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बिहीबार थाई एयरवेजको उडान नम्बर टीजी–३०९ मार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएका विदेशी यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारतको मणिपुर ठेगाना भएका २० वर्षीया मोना देवी लोङ्जाम  र २३ वर्षीया ओइनाम एली रहेका छन्। उनीहरूले सुटकेसभित्र लुकाएर ल्याएको ८ किलोग्राम थाई गाँजा बरामद गरिएको ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार घटनास्थलबाट दुई थान राहदानी र दुई थान मोबाइल फोन पनि बरामद गरिएको छ। पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।