काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहेका छन् ।
बैठकले समितिलाई अबको सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ। नेपालीको गत असार २६ गते वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारको क्रममा निधन भएको थियो। उनको मृत्युपछि नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो।
सहमतिको पहिलो बुँदामा भनिएको थियो, “यस घटनाको सत्यतथ्य र निस्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समतिले गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नेछ।” त्यसैअनुसार मन्त्रिपरिषद् बैठकले यो समिति गठन गरेको हो।