काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।
नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने वीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा हरेक दिन बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ । यद्यपि, बिहान ४ देखि बेलुका ६ बजेसम्म सवारी सञ्चालनको व्यवस्था गरिएको छ ।
त्यसैगरी, कान्ति लोकपथमा अपराह्न ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन बन्द भएको छ ।
यसैगरी, अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुंगेखोलामा माथिबाट ढुंगा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं २ कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहितको ढुंगा–माटो खसेपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं ८ गिम्दी तथा वडा नं ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले वीपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।