कसैलाई नसमाति अडिन नसक्ने पार्टी एमाले होइन : ओली

  • मिति : साउन १, २०८३
616 Shares

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आँधी, हुरी र तुफानसँग सामना गरेर एमाले अघि बढ्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीको वेबसाइट तथा एपको नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गत चुनावमा धक्का खाए पनि नसिद्धिएको बताए ।

‘हामीले धक्का खाएका छौँ । धक्का खाएको हो, सिद्धिएको होइन । हामी नवीकृत भएर अघि बढ्नेछौँ भन्ने कुराको सङ्केत यो हो,’ ओलीले भने, ‘हामीलाई एक्लाउने प्रयासहरू अझै बढी निरन्तर अघि बढिरहेकै छन् । एक्ल्याउने प्रयास अघि बढिरहेका छन् ।’

उनले एमाले आँधी, हुरी, तुफान, बाढी लगायत धेरैसँग सामना गर्दै आएको पार्टी भएको कसैलाई नसमाति अघि बढ्नै नसक्ने पार्टी हुन नसक्ने बताए ।

‘हामी यस्तो लहरो होइन, जसले अर्कालाई नसमातिकन उठ्नै सक्दैन । हामी एउटा स्वतन्त्र वृक्ष हौँ । दह्रो, मजबुत र विशाल वृक्ष हो’, ओलीले भने, ‘अरूको बलमा उभिएका पनि होइन ।आफैँ हुर्किँदै, आँधी हुरी तुफान बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौँ ।’ उनले आफ्नै बलमा फेरि पार्टी नवीकृत हुँदै अघि बढ्ने बताउँदै फेरि पनि आफ्नै बुतामा नवीकृत हुँदै अघि एमाले अघि बढ्ने दाबी गरे ।