केबीएनआर इस्वा पावरको १ अर्ब रूपैयाँ भन्दा बढीकाे कित्ता आईपीओमा ज्योति क्यापिटल प्रत्याभूतिकर्ता

  • मिति : असार ३१, २०८३
599 Shares

काठमाडौं । केबीएनआर इस्वा पावर लिमिटेड ले सर्वसाधारणका लागि जारी गर्न लागिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूतिकर्ताका रूपमा ज्योति क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड १९ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ। यसअनुसार कुल १ अर्ब १९ करोड रुपैयाँबराबरको आईपीओको प्रत्याभूति जिम्मेवारी ज्योति क्यापिटलले लिएको हो।

सम्झौतापत्रमा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र केबीएनआर इस्वा पावरका प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन्। कार्यक्रम काठमाडौंको कमलपोखरीस्थित ज्योति क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो।

ज्योति विकास बैंक को सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ। नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिस्ट्रार सेवा प्रदान गर्दै आएको जनाएको छ।