टोरन्टोको सडक महोत्सवमा गोलीबारी हुँदा २ जनाको मृत्यु

  • मिति : असार २८, २०८३
548 Shares

टोरन्टो : क्यानडाको टोरन्टो सहरमा आयोजित एक सडक महोत्सवमा भएको गोलीबारीमा कम्तीमा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार साँझ स्थानीय समयअनुसार करिब ८ः १२ बजे सेन्ट क्लेयर एभिन्यूमा वार्षिक साल्सा अन सेन्ट क्लेयर महोत्सव चलिरहेका बेला गोली चलेको थियो ।

घटनास्थलमा पुगेका प्रहरी टोलीले गोली लागेका ६ जना फेला पारेका थिए । तीमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ । घटनापछि आयोजित पत्रकार सम्मेलनमा टोरन्टो प्रहरीले महोत्सवमा रहेका दुई व्यक्तिबिच गोली हानाहान भएको जनाएको छ ।

घटनास्थलबाट दुई वटा बन्दुक बरामद गरिएको भए पनि घटनामा संलग्न कसैलाई अहिलेसम्म पक्राउ गर्न नसकिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । टोरन्टो प्रहरीका उपप्रमुख फ्रान्सिस्को बारेडोले घटनास्थल अत्यन्त अव्यवस्थित बनेको बताउँदै गोलीबारी हुँदा महोत्सवमा करिब १३ हजार मानिस उपस्थित रहेको जानकारी दिए ।

उनका अनुसार घटनासँग सम्बन्धित तीन फरक अपराधस्थल सुरक्षित गरेर अनुसन्धान अघि बढाइएको छ । प्रहरीले सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन आग्रह गर्दै घटनाबारे कुनै जानकारी वा प्रत्यक्षदर्शी भए प्रहरीलाई सम्पर्क गर्न अपिल गरेको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार, गम्भीर घाइते तथा प्रभावित सबैप्रति समवेदना प्रकट गरेका छन् । त्यस्तै, ओन्टारियो प्रान्तका प्रमुख डग फर्डले यसलाई अर्थहीन हिंसा भन्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । उनले घटनास्थलमा खटिएका उद्धारकर्मी र सुरक्षाकर्मीप्रति पनि आभार व्यक्त गरेका छन् ।

टोरन्टोको मध्यभागमा पर्ने सेन्ट क्लेयर एभिन्यूमा हरेक वर्ष आयोजना हुने साल्सा अन सेन्ट क्लेयर ल्याटिन महोत्सव यस वर्ष २२औँ संस्करणका रूपमा आयोजना गरिएको थियो । महोत्सवमा प्रत्यक्ष संगीत, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू समावेश थिए ।