काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राज्यका क्रूर र अमानवीय व्यवहारका कारण नागरिकहरू आत्मदाह र आत्महत्या गर्न बाध्य भइरहेको बताएका छन् । गणेश नेपालीको मृत्यु प्रकरण र सरकारको कार्यशैलीमाथि प्रश्न गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।
‘स्मरण रहोस् योगमाया न्यौपानेले अरुण नदीमा लिएको जलसमाधिको साहसिक निर्णय नेपालमा निरङ्कुश राणा शासन अन्त्यको बिज बनेको थियो’, भट्टराईले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राज्य र सरकार कार्यशैली बदल, व्यवहार बदल । तिमीभन्दा माथि संविधान छ । कानुन छ । लोकतन्त्र र मानवअधिकार छ । नेपाली समाजले निर्माण गरेको सभ्यता र संस्कृति छ । यो सबैको सम्मान गर । तिमीसँग अर्को कुनै विकल्प छैन । गणेश नेपालीहरू हेपिन तयार छैनन् ।’