काठमाडौँ । डाँका मुद्दामा लामो समयदेखि फरार एकजना प्रतिवादीलाई प्रहरीले सप्तरीको खडक नगरपालिका वडा नम्बर–५ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका–५ घर भएका नारायण शाह तेली भन्ने भुप नारायण साह छन् ।
प्रतिवादीलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले जानकारी दिए । पर्सा जिल्ला अदालतले २०५६ जेठमा उनलाई ६ वर्ष कैद र ७२ हजार जरिवाना हुने फैसला गरेको थियो । त्यसबेला केही दिन हिरासतमा बसेर निस्केका साहले ५ वर्ष ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी देखिएको छ ।
इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर श्याममणि पोखरेलको कामाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले उनलाई कारागार कार्यालय राजविराज चलान गरिएको डीएसपी घिमिरेले जानकारी दिए ।