काठमाडौं । अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको १३१ दिनपछि अन्त्येष्टि गरिएको छ । उनको शव १३१ दिनसम्म चिसोमा सुरक्षित राखिएको थियो ।
शुक्रबार बिहान खामेनीलाई उनको गृहसहर मशहदस्थित इमाम रेजा तीर्थस्थलको ‘दार अल–जिक्र’ परिसरमा गाडिएको हो । इमाम रेजा शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र धार्मिक स्थलहरूमध्ये एक मानिन्छ ।
हजारौं सर्वसाधरणहरुको उपस्थितिमा खामेनीको गृहनगर मशहदमा उनलाई अन्तिम बिदाइ गरिएको हो । अन्त्येष्टि यात्राका क्रममा ठूलो संख्यामा मानिसहरू शोकमा डुबे र आफ्नो छाती पिट्दै गरेको देखिएका थिए ।
अन्त्येष्टि समारोहमा उनका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनी भने सम्पूर्ण प्रक्रियाका क्रममा कतै देखिएनन् ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, सुरक्षा खतराका कारण मोज्तबा अन्त्येष्टिमा सार्वजनिक रूपमा सहभागी भएनन् ।
अन्त्येष्टि समारोहमा संसदका सभामुख मोहम्मद बागेर घालिबाफ, प्रधानन्यायाधीश गुलामहोसेन मोहसेनी एजेई र खामेनीका छोरा मुस्तफा खामेनी लगायत इरानका धेरै वरिष्ठ नेताहरू उपस्थित थिए ।
२८ फेब्रुअरी २०२६ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा खामेनी मारिएका थिए । सोही आक्रमणमा खामेनीका परिवारका धेरै सदस्यहरू पनि मारिएका थिए ।