काठमाडौँ अर्बपतिको मात्रै हो कि गरिबको पनि ? : ज्ञानेन्द्र शाही

  • मिति : असार २६, २०८३
650 Shares

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले काठमाडौँ सहर र राज्यको नीति केवल धनी र शक्तिशालीका लागि मात्रै हो कि गरिबको पनि हो भन्ने प्रश्न सोधेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद शाहीले मुगुका २५ वर्षीय युवक गणेश नेपालीले राहदानी विभाग अगाडि गरेको आत्मदाह र त्यसपछि भएको उनको निधनको विषयलाई लिएर राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएका हुन् ।

शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्दै भने, ‘यो काठमाडौँ सहर अर्बपति र करोडपतिहरूको मात्रै हो ? यो गरिब, दुःखी, श्रमिक र निमुखा जनताको सहर हो कि होइन ? यदि यो नेपालको राजधानी हो भने यहाँ सर्वहारा वर्गले किन बाँच्न पाउँदैन ?’

पछिल्लो समय काठमाडौँमा गरिब र श्रमजीवी वर्गलाई बाँच्न गाह्रो भएको भन्दै उनले थपे, ‘सरकार अर्बपतिलाई चाहिएको होइन, सरकार त निमुखा र अपहेलितहरूलाई चाहिएको हो । तर आज सरकारका ऐन, नियम र निर्णयहरू केवल हुनेखानेकै पक्षमा केन्द्रित छन् ।’

गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको निहुँमा १० हजार रुपैयाँ जरिवाना र त्यसबाट सिर्जित मानसिक तनावका कारण आत्मदाह गरेको उल्लेख गर्दै शाहीले यसलाई राज्यको नीतिले गराएको हत्याको संज्ञा दिए । ‘१० हजार जरिवाना तिर्न नसकेर एउटा युवाले मर्नुपर्ने ? यो कस्तो न्याय हो ?’ शाहीले भने ।

शाहीले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि पनि तिखो प्रहार गरे । गृहमन्त्री मिडिया र क्यामेरा बोकेर फिल्मको नायक जस्तै एयरपोर्ट र सडकमा दौडिरहेको तर जनताको ज्यान बचाउन असफल भएको उनको आरोप थियो । ‘गृहमन्त्रीज्यू, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ? क्यामेरामा लाइक र भ्युज पाउनका लागि गरिने स्टन्टले जनताको ज्यान बच्दैन,’ उनले भने, ‘यदि समयमै एयर एम्बुलेन्सको व्यवस्था गरेर गणेश नेपालीलाई दिल्ली पुर्‍याइएको भए आज उनी जीवित हुने थिए ।’

नेपाली नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिरिरहेको तर राज्यबाट शिक्षा, स्वास्थ्य र सुरक्षित सडक जस्ता आधारभूत सुविधा नपाएको विषय पनि संसद्‌मा उठेको छ ।

‘हामी युरोपका देशको भन्दा बढी कर तिर्छौँ, तर सुविधा सोमालियाको भन्दा तल्लो स्तरको पाउँछौँ,’ शाहीले भने, ‘२९६ प्रतिशतसम्म कर असुल्ने राज्यले पार्किङको व्यवस्था गर्न सक्दैन, अनि गरिबलाई सडकबाट लखेट्छ ।’