अमेरिका–इरान सम्झौतानजिक रहेको पाकिस्तानी प्रधानमन्त्रीको दाबी

  • मिति : जेष्ठ ३१, २०८३
582 Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरान सम्झौतानजिक पुगेको बताएका छन् । पाकिस्तानले दुवै पक्षसँग समन्वय गर्दै सम्झौतालाई अन्तिम रूप दिन मध्यस्थताको भूमिका निर्वाह गरिरहेको छ ।

सरिफले अमेरिका र इरान दुवै देश अन्तिम र आपसी सहमतियुक्त दस्तावेजको नजिक पुगेको बताउँदै पाकिस्तानले आगामी चरणका प्रक्रियामा काम गरिरहेको जानकारी दिए । उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, “शान्ति यसअघि कहिल्यै यति नजिक थिएन, जति अहिले छ ।”

यसै हप्ता अमेरिका र इजरायलले इरानमाथि तीनपटक आक्रमण गरेका थिए भने इरानले पनि उनीहरूमाथि जवाफी हमला गरेको थियो । जसका कारण पुनः युद्ध भड्किने जोखिम बढाएको थियो ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि एक्समा सम्झौता निकै नजिक रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अराघचीको उक्त पोस्ट आफ्नो सामाजिक सञ्जालमा साझा गरेका थिए ।

२८ फेब्रुअरीमा सुरु गरिएको यस युद्धले सम्पूर्ण खाडी क्षेत्रलाई प्रभावित बनाएको छ र होर्मुज जलमार्गबाट हुने तेल तथा प्राकृतिक ग्यासको आपूर्ति लगभग अवरुद्ध भएको छ । यद्यपि, ७ अप्रिलदेखि दुवै पक्षबीच युद्धविराम लागु छ ।

एपीले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार सम्भावित सम्झौतामा इरानमाथि लगाइएका प्रतिबन्धहरू क्रमिक रूपमा हटाउने र रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्ने विषय पनि समावेश छ ।

वासिङ्टन र तेहरानबाट अन्तिम स्वीकृति प्राप्त भएपछि आगामी केही दिनभित्र सम्झौतामा हस्ताक्षर हुन सक्ने बताइएको छ ।