काठमाडौँ : फिलिपिन्सको मिन्डानाओ टापु क्षेत्रमा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । अधिकांश मानवीय क्षति भवन भत्किँदा र पहिरो जाँदा भएको समाचार एजेन्सी एपीले जनाएको छ ।
साराङ्गानी प्रान्तको ग्लान नगरपालिकामा भूकम्पका कारण पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन अधिकारी रेने पुन्जालानका अनुसार साराङ्गानीमै थप ४ जनाको ज्यान गएको छ ।
साराङ्गानीको पहिरोबाहेक अधिकांश मृत्यु भवन भत्किँदा वा भग्नावशेषले च्यापिँदा भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी प्रान्तहरू साउथ कोटाबाटो, दाभाओ ओक्सिडेन्टल तथा बालुट टापुमा मस्जिदलगायतका संरचना क्षतिग्रस्त भएका छन् ।
मनिलास्थित डीजेडआरएच रेडियो नेटवर्कका अनुसार यसको प्रादेशिक कार्यालय रहेको चारतले व्यावसायिक भवन आंशिक रूपमा भत्किएको छ । यद्यपि कर्मचारीहरू सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए ।