तीन वर्षीया बालिका हत्या प्रकरण : मध्यरातमा ५ बुँदे सहमति पछि रोकियो आन्दोलन

  • मिति : भदौ ५, २०८३
327 Shares

रौतहट । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर हुँदै आएको आन्दोलन ५ बुँदे सहमतिपछि स्थगित भएको छ ।

पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समिति बाराबीच बिहीबार राति पथलैयास्थित सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालयमा भएको वार्तामा ५ बुँदे सहमति जुटेको हो । सहमति भएसँगै घटनाको विरोधमा पीडित परिवार तथा स्थानीयले गर्दै आएका सडक अवरोधसहितका चरणबद्ध आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ ।

सहमतिको पहिलो बुँदामा पीडित परिवारलाई उचित राहत तथा रोजगारीको व्यवस्था गर्न स्थानीय तहसमेतको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गर्ने उल्लेख छ ।

त्यस्तै, घटनामा संलग्न भएको आरोपमा हिरासतमा रहेका संदिग्धमाथि अनुसन्धानलाई निरन्तरता दिने र अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता पुष्टि भए उनीहरूलाई समेत प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने सहमति भएको छ ।

जिल्लाको वर्तमान तथा भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषण र पुनरावलोकन गरी भरपर्दो तथा विश्वसनीय सुरक्षा वातावरण कायम गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने सहमति भएको छ ।

वार्तामा इलाका प्रहरी कार्यालय सिमरामा उक्त समयमा कार्यरत रही घटनाको अनुसन्धान तथा खोजीका क्रममा लापरबाही गरेको देखिएका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने मागसमेत सम्बोधन गर्ने सहमति भएको छ । यसैसँगै आन्दोलनरत पक्षले आजदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

गरिमा चौधरीको शव भदौ २ गते जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित एक खाली घरमा फेला परेको थियो । बालिकाको शव फेला परेपछि घटना बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

घटनापछि दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै पीडित परिवार, स्थानीय तथा विभिन्न पक्षले सडक अवरोधसहित प्रदर्शन र आन्दोलन गर्दै आएका थिए ।

मध्यरातसम्म चलेको वार्तापछि पाँच बुँदे सहमति जुटेसँगै तत्कालका लागि आन्दोलन रोकिए पनि घटनाको अनुसन्धान र दोषीमाथिको कारबाहीलाई पीडित पक्षले नजिकबाट निगरानी गर्ने बताएको छ ।