काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रस्तावित सम्झौताको मस्यौदा फिर्ता पठाएका छन् । त्यसमा परिवर्तन गर्न निर्देशन दिँदै उनले सम्झौता फिर्ता पठाएका हुन् ।
यसले दुई देशबीच चलिरहेको वार्ता अझ लम्बिन सक्ने तथा सम्झौताप्रति नयाँ अनिश्चितता पैदा गरेको छ ।
ट्रम्पले आफ्ना सल्लाहकारहरूसँगको बैठकमा इरानको परमाणु कार्यक्रममा थप कडा सर्तहरू समावेश गर्न माग गरेका छन् । उनले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्गलाई पूर्णरूपमा खुला गर्ने विषयलाई पनि सम्झौताको मुख्य हिस्सा बनाउन जोड दिएका छन् ।
ट्रम्प इरानलाई दिइने आर्थिक राहत प्याकेजका विषयमा पनि सतर्क छन् । इरानलाई धेरै वित्तीय छुट दिइएमा यसको तुलना पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालको परमाणु सम्झौतासँग हुनसक्ने उनमा आशंका छ । ट्रम्पले ओबामाको कार्यकालमा भएको परमाणु सम्झौताको यसअघि पनि आलोचना गरिसकेका छन् ।
केही दिनअघि मात्र ट्रम्पले सम्झौता लगभग अन्तिम चरणमा पुगिसकेको र दुई देशबीचको तनाव चाँडै अन्त्य हुन सक्ने बताएका थिए । अमेरिकी अधिकारीहरूले पनि सम्झौता तयार भइरहेको संकेत दिएका थिए ।
यद्यपि, शुक्रबार भएको करिब दुई घण्टा लामो बैठकपछि पनि कुनै अन्तिम निर्णय हुन सकेन । ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले इरानको उच्चस्तरमा संवर्धित युरेनियमको भण्डारलाई आफ्नो नियन्त्रणमा लिएर नष्ट गर्न चाहेको बताएका छन् ।
इरानले भने हाल भइरहेको वार्तामा आफ्नो परमाणु कार्यक्रमका प्राविधिक विवरणहरूमाथि छलफल नभएको बताएको छ । वित्तीय मुद्दाहरूमा पनि दुवै पक्षबीच मतभेद कायमै छन् ।
ट्रम्पले सम्झौतामा पैसाको लेनदेनबारे कुनै छलफल नभएको बताएका छन् । इरानले कुनै पनि सम्झौतामा आर्थिक प्रावधानहरू समावेश हुनु अनिवार्य रहेको अडान राखेको छ ।
यसैबीच, इरानी संसद्का सभामुख मोहम्मद बाघेर कालिबाफले इरानका अधिकार र हितहरू सुरक्षित नभएसम्म अमेरिकासँगको कुनै पनि सम्झौतालाई स्वीकृति नदिइने स्पष्ट पारेका छन् । उनले केवल आश्वासनहरूमा मात्र विश्वास गर्न नसकिने र इरानले ठोस लाभ प्राप्त गर्नुपर्ने बताएका छन् ।
उता, अमेरिकी सिनेटर क्रिस कुन्सले ट्रम्पले राखेका सर्तहरू कागजमा उपयुक्त देखिए पनि विशेष गरी होर्मुज जलमार्गको सन्दर्भमा तिनलाई कार्यान्वयन गर्न सजिलो नहुने बताएका छन् ।
हाल दुवै देशबीच सम्झौताको भाषा र सर्तहरूमाथि वार्ता जारी रहे पनि नयाँ परिवर्तनहरूको मागपछि अन्तिम सम्झौता कहिलेसम्म हुन सक्छ भन्ने विषय अझै स्पष्ट छैन । एएनआई