काठमाडौं । विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४० ट्याब्लेटसहित काठमाडौं बल्खु बस्ने नुवाकोट लिखु गाउँपालिका–८ घर भएका २४ वर्षीय प्रकाश दर्जीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, उदयपुरगढी गाउँपालिका–४ तितिरेबोटबाट लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका–१७ बस्ने ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका–८ बस्ने ४० वर्षीया अस्मिता राम रहेका छन् । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले ढुङग्रेबाट नेपालटारतर्फ आउँदै गरेको स१ ज ५९० नम्बरको बोलेरोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस्तै, सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर जुटपानीबाट अवैध लागूऔषध गाँजा १३ किलो २५० ग्रामसहित सोही नगरपालिका–९ कमलपुर बस्ने २१ वर्षीय विजयकुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै, प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ ।
झापा, कनकाई नगरपालिका–३ कालीस्थान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ४३ वर्षीय चन्द्रबहादुर पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।