काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवम् नेता कमल थापाले एक कार्यक्रममा युवकको घाँटी अठ्याएका छन् । थापा ललितपुरस्थित हिमालय होटलमा आयोजित ‘वैदिक सनातन हिन्दु अधिराज्य नेपाल’ विषयक विचार गोष्ठीमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । पृथ्वी पथ प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा थापाले अंग्रेजी र नेपालीमा मन्तव्य दिएपछि केही युवाहरूले उनीप्रति आक्रोश व्यक्त गरे ।
जेनजी युवा सुरेन्द्रजंग थापाले प्रश्न सोध्ने भन्दै माइक समातेर थापामाथि विभिन्न आरोपहरू लगाए । थापाले जवाफ दिन नपाइ नाराबाजी सुरु भयो । त्यसपछि उनी मञ्चबाट ओर्लिएर आक्रोशित युवाहरूसँग कुरा गर्न थालेका थिए । अनिष त्रिपाठी नामका युवकले थापाको मुखैमा क्यामरा घुमाएर भिडिओ खिचिरहेका थिए । थापाले आक्रोशमा एक्कासी त्रिपाठीको घाँटी नै समाए । त्यसपछि लफडा हुने देखेपछि थापा कार्यक्रमबाट बाहिरिएका थिए । युवकले कार्यक्रमपछि कमल थापाले आफ्नो घाँटी न्याकेको बताए । आफू पत्रकार नभएको र भिडिओमात्रै खिचेको उनको भनाइ थियो ।